सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला
२३फाल्गुन काठमाडौं। जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।थरुहट र थारुवान आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको मुद्दामा बुधबार सुनुवाई गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो। फैसलापछि उनीहरुले २०९४ साल फागुन ११ गतेसम्म जेलमा बस्नुपर्ने छ।
सो मुद्दामा थरुहट नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी, दुई नाबालक गरी १५ जनालाई रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार इन्द्र कठायतले जानकारी दिए।जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच मंगलबार बहस सकिएपछि मुद्दाको फैसला गरिएको हो।
झण्डै ४२ महिनापछि गत बुधबारदेखि तोकिएको पेशी अन्तर्गत एक सातासम्म वादीतर्फबाट जिल्ला न्यायाधीवक्ता विष्णु पौडेल र सहायक न्यायाधीवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए।प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो।टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको थियो।
सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन्। बाँकी फरार अवस्थामै छन्।पक्राउ परेकामध्ये दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको थियो ।
टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीले घटना लगत्तै फरार भएका थिए। उनले फरार रहेकै अवस्थामा टीकापुरबाटै गत वर्ष मंसिरमा भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए।रेशमले चुनाव जितेपछि गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा रेशमले आत्मसमर्पण गरेका थिए। उनलाई पौष १९ गते मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए।