उपत्यकाको प्रदुषण नियन्त्रणमा कडाई गर्दै ट्राफिक प्रहरी
२४ चैत काठमाडौं । ट्राफिक प्रहरीले बिगत तीन दिनदेखी थालेको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना’ अन्तरगत आज एकैदिन ४६ वटा सवारी साधन कारबाहीमा परेका छन् ।आइतबार बबरमहलमा गरिएको प्रदुषण जाँचका क्रममा बढी धुँवा फ्याकेको भेटिएका ती सवारी साधानलाई कारबाही गरिएको हो ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार यातायात व्यवस्था विभागको दुई वटा प्रदुषण जाँच उपकरण र प्राविधिकको सहायतामा प्रदुषण जाँच गरिएको थियो ।‘त्यसक्रममा पेट्रोलबाट चल्ने ३४ र डिजेलबाट चल्ने १२ वटा सवारी साधानमा फल्ट देखियो’, उनले भने, ‘हामीले जम्मा १ सय ५ वटा सवारी साधान जाँच गरेका थियौं ।’ चेकजाँचका क्रममा विभागका प्राविधिकसहित ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा एउटा टोली खटिएको थियो ।पन्तका अनुसार यसरी कारबाहीमा परेको सवारी साधानको लाइसेन्स वा ब्लु बुक नियन्त्रणमा लिइन्छ । सवारी मर्मतपछि यातायात विभागमा पुनः चालकले चेकजाँच गराएर हरियो स्टिकर दिएपछि मात्रै कागज पत्र फिर्ता दिइनेछ ।ट्राफिक प्रहरीले धुँवा फाल्ने सवारी साधनलाई ५ सय रुपैयाँ जरिवाना पनि तिराउँदै आएको छ ।