इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ काठमाडौँमा सम्पन


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २९ २०७६
4.8K
SHARES

२९ वैशाख काठमाडौं ।राष्ट्रिय गौरवको बहुउद्देश्यीय भेरी बबई डाइभर्सन परियोजनाले उत्कृष्ट राष्ट्रिय गौरवको आयोजना अवार्ड पाएको छ । हिमालय टेलिभिजनको आयोजनामा आज काठमाडौंमा गरिएको इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ मा उत्कृष्ट राष्ट्रिय गौरवको आयोजनाको रुपमा भेरी बबई डाइभर्सनको सुरुङ खण्डको निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी पुरस्कृत भएको हो ।

त्यस्तै उत्कृष्ट पब्लिक पर्पस प्रोजेक्टको विजेता मध्यपहाडी लोकमार्ग बनेको छ । यस लोकमार्गको ठाँटीखाँद देखि मंगलसेन खण्डको निर्माण कम्पनी चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रालिले अवार्ड पाएको हो ।बेस्ट पपुलर प्रोजेक्टको अवार्ड बर्दियाको कोठियाघाटमा निर्माण भएको कर्णाली पुलका निर्माण कम्पनी एएनके कन्स्ट्रक्सन कम्पनीले पाएको छ । उत्कृष्ट पुनर्निर्माण आयोजनाको उपाधि मनकामना मन्दिर निर्माणकर्ता मनकामना मन्दिर जिर्णोद्धार समितिले पाएको छ ।

मध्यम खालको निर्माण कम्पनीको अवार्ड कनक आचार्यले पाएका छन् । साना खालको निर्माण कम्पनीको अवार्ड शैलेन्द्र श्रेष्ठले पाएका छन् ।लाइफ टाइम अचिभमेन्ट अवार्ड ईन्जिनियर शंकरनाथ रिमाललाई प्रदान गरिएको छ ।पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न हिमालय टेलिभिजनको आयोजनामा नेपालमै पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ आयोजना भएको हो ।

पूर्वाधार विकास राष्ट्रिय प्राथमिकता भएको सन्दर्भमा यो क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकासलाई प्रोत्साहित गर्न र निर्माण क्षेत्रमा सकारात्मक उर्जा भर्न अवार्ड आयोजना गरिएको हिमालय टेलिभिजनले जनाएको छ ।यो अवार्डले नेपाली निर्माण क्षेत्रमा भइरहेका उदाहरणीय कार्यहरुको पहिचान गरी त्यसमा संलग्न निर्माण कम्पनी, ब्यक्तित्व एवं परियोजनाहरुलाई सम्मान गर्ने आयोजकको भनाइ छ ।

प्रत्येक विधामा पाँचवटा प्रतिस्पर्धीको छनोट गरी तीमध्ये एउटालाई निर्णायकको मतअनुसार अवार्ड प्रदान गरिनएको हो । अवार्डका दावेवार परियोजनाको छनोटका लागि अनुसन्धान संस्था ‘फ्याक्ट’लाई अनुबन्ध गरिएको थियो ।अवार्डमा मनोनयनमा पर्नका लागि तय गरिएका मापदण्डका आधारमा लामो अनुसन्धानपछि फ्याक्टले सूचीकरणमा परेका परियोजना, कम्पनी तथा ब्यक्तित्वहरु विवरण निर्णायक टिमलाई उपलब्ध गराएको थियो ।निर्णायक टिमका मत अनुसार अवार्ड बिजेताहरुको तय गरिएको हो । बेष्ट पिपुल्स च्वाइस अवार्डको छनौट भने आम दर्शकको भोटिङका आधारमा चयन गरिएको छ ।