चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश, नेदरल्यान्डस् घर फर्कियो


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
7.6K
SHARES

१३ असार काठमाडौ । चेक रिपब्लिक युरोपक २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रयाङ डि बोरको प्रशिक्षणमा रहेको नेदरल्यान्डस्लाई २–० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा सम्पन्न खेलमा खेलको ६८ औं र ८० औं मिनेटमा चेकले नेदरल्याड्सको पोस्टमा गोल हान्यो । चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गरे ।
उसो त खेलको ५५ औं मिनेटमा माथिज्स डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा सीमित भएको थियो ।

बलियो टोली मानिएपनि आजको खेलमा नेदरल्याडस् अभागी सावित भयो । पछिल्लो प्रदर्शन नियाल्ने हो भने नेदरल्यान्डस्ले पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको थियो भने १ खेलमात्रै बराबरी खेलेको थियो । समूह सीमा आफ्ना सबै खेल जित्दै विजेताका रुपमा नेदरल्यान्डस्ले अन्तिम १६ मा स्थान बनाएको थियो । यता, समूह चरणको खेलमा इङल्यान्डसँग चेक गणतन्त्र १–० ले पराजित भएको थियो ।

तर, त्यसअघि नै स्कटल्यान्डविरुद्धको विजय र क्रोयशियासँगको बराबरीका कारण चेकले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको थियो ।

चेकोस्लोभाकियाबाट चेक गणतन्त्र बनेयता यस टोली युरोमा अन्तिम १६ बाट कहिल्यै बाहिरिएको छैन । १९९६ मा चेक गणतन्त्र फाइनलमा पुगेको थियो, २००४ मा सेमिफाइनल पुगेको थियो भने २०१२ मा उसको यात्रा क्वाटरफाइनलमा टुंगिएको थियो ।