जर्मनीलाई हराउदै इङ्ल्यान्ड क्वाटरफाइनलमा
१५ असार काठमाडौं । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड १६ औँ संस्करणको युरोकप फुटबल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङ र ह्यारी केनले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
खेलको ७५ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ । इङ्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ । स्विडेन र युक्रेनबीचको खेल आज राती नै हुनेछ ।