जर्मन कपमा बायर्नको एक दर्जन गोल


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
3.2K
SHARES

१० भदौ काठमाडौं । इरिक म्याक्सिम चोउपो–मोटिङले चार गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति जर्मन कपमा पाँचौं श्रेणीको क्लब ब्रेमर एसभीलाई १२–० को फराकिलो नतिजामा हराएको छ ।

यस खेलको तालिका ६ अगष्टमा थियो । तर, ब्रेमरका केही खेलाडी कोभिड–१९ संक्रमित भएका कारण सरेको थियो । जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्नले पहिलो हाफमै पाँच गोलको अग्रता लिएको थियो ।

आठौं मिनेटमा पहिलो गोल गरेका चोउपो–मोटिङले ३५औं मिनेटमा ह्याट्रिक गरेका थिए । उनले २८औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

चोउपो–मोटिङबाहेक बायर्नका जमल मुसिलाले दुई तथा मालिक टिलमन, लेरोए साने, बोउना सार, मिचेल कुइसेन्स र कोरेन्टिन टोलिसोले एक–एक गोल गरे ।

बायर्नका रोबर्ट लेवनडोवस्की, लियोन गारेट्जका, म्यानुएल नुयर, अल्फान्सो डेबिस र सर्ज गेनाब्रीजस्ता खेलाडी बेन्चमा थिए ।