प्रतिस्पर्धात्मक खेलमा पूर्व नम्बर एक मरे स्तब्ध
१५ भदौ काठमाडौं । चोटका कारण लामो समयपछि कोर्टमा फर्किएका बेलायती स्टार एन्डी मरे मंगलबार यूएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । पूर्व विश्व नम्बर एक मरे तेस्रो वरीयाताका ग्रिसका स्टेफानोस सिटसिपससँग पाँच सेटको नतिजामा पराजित भएका हुन् ।
न्युयोर्कमा मगलबार बिहान सिटसिपसले मरेलाई ३–२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेका हुन् । मरे तेस्रो सेटसम्म सिटसिपसलाई बलियो चुनौती दिए पनि बाँकी कमजोर बनेका थिए ।
सिटसिपसले २–६, ७–६ (९/७) ३–६, ६–३, ६–४ ले जितेका हुन् । गम्भीर चोटका कारण मरेको कृतिम अंग पिठ्युमा राखिएको छ । त्यसका कारण उनी लामो समय कोर्ट बाहिर थिए । ३४ वर्षे मरे अहिले विश्व वरियताको ११२औं स्थानमा छन् ।
सिटसिपसले अब दोस्रो चरणमा फ्रान्सका एड्रियन मन्नारिनोविरुद्ध खेल्नेछन् । मन्नरिनोले आफ्नै देशका पिइरे–हुगुस हर्बर्टलाई ३–६, ४–६, ६–४, ६–३, ६–३, ६–३ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।