साफ फुटबलः बलियो टिम श्रीलंकासँग नेपाल भिड्दै
१८ असोज काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आजको दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल आज राति ९ः४५ बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकका लागि खेल्ने बताएका छन् ।
‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौ । माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिएँ हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ,’ कप्तान किरणले भनेका छन् ।
तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।
‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ ।’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ ।’
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १ शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
श्रीलंका पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ ।श्रीलंका पहिलो खेलमा पराजित भएको थियो । श्रीलंका बंगलादेशसंग १ शुन्य गोल अन्तरले हारेको थियो ।
साफ अन्तर्गत नै आजै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।