रियालको जित
८ पुस काठमाडौं । करिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले बुधबार राति स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । भ्रमणकारी रियालले करिम बेन्जेमाको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । सातौं मिनेटमा बेन्जेमाले रियालको अग्रता दोब्बर बनाए । जारी सिजन बेन्जेमाको यो २०औं गोल हो । लिगमा बेन्जेमाको यो १५औं गोल हो । ला लिगमा जारी सिजन उनी धेरै गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका रियाल बेटिसका जुवानमीले ११ गोल गरेका छन् । रियालकै भिनिसियस जुनियरले १० गोल गरेका छन् । दशौं मिनेटमा ओइहान सानसेटले गरेको गोलबाट एथलेटिक बिल्बाओले पुनरामनको प्रयास गरे पनि सफल भएन ।
रियालले जारी सिजन सबै खाले प्रतियोगितामा गरी २५ खेलमध्ये दुई खेलमा मात्र हारेको छ । रियाल पछिल्लो समय ३ अक्टोबरमा स्पानियोलसँग २–१ ले हारेको थियो । त्यसअघि च्याम्पियन्स लिगमा एफसी शेरिफसँग २–१ ले हारेको थियो ।
साविक विजेता एट्लेटिको पराजित
साविक विजेता एट्लेटिको मड्रिड गएराति ग्रानाडासँग २–१ ले पराजित भयो । भ्रमणकारी एट्लेटिकोले दोस्रो मिनेटमै जाओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन नसक्दा महत्वपूर्ण अंक गुमाउनु पर्यो । १७औं मिनेटमा डर्विन माचिसले बराबरी गोल फर्काए । ६१औं मिनेटमा जर्ज मोलिनाले गरेको गोल ग्रानाडाको गोलमा निर्णायक बन्यो ।