पुलिस र मछिन्द्र भिड्दै
१८ पुस काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल मात्र हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आज एक खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र मछिन्द्रबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।
मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिंदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।
यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ ।
मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सजिलो छैन ।