आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १६ २०८०
3K
SHARES

१६ जेठ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन। मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो। किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेका हुन्।

यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलियै छ।  अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ।  सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ। अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन्।

दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छदक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बाबे प्रस्थान गर्ने छ। त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ।  जिम्बाबेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्नेछ। यूएई र ओमानसँग यसै महिना दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनोट चरण सुरु हुनेछ।

विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन्। विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ। असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ। तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ।  यसैले सन्दीपको क्रिकेट खेललाई असर नपर्नेगरी अर्को पेसी तोक्न निवेदन दिन लागिएको हो।