हिमालयनको साँघुरो जित
१३ पुस काठमाडौं । हिमालयन शेर्पा क्लबले एन्फा यू–१६ युथ लिगमा संकटा क्लबविरुद्ध २–१ को साँघुरो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिमालयनलाई जित दिलाउन जेनिल सुब्बा र महेश राईले समान एक गोल गरे । संकटाका पेम्बा तामाङले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको १६औँ मिनेटमा संकटालाई पेम्बा तामाङले अग्रता दिलाए । पेम्बाले पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका थिए । तर, संकटाले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३८औँ मिनेटमा जेनिलले हिमालयनलाई खेलमा फर्काए ।
४८औँ मिनेटमा महेशले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।जितसँगै हिमालयनले लिगमा ३२ अंक जोडेको छ । हिमालयनले २६ खेलमा नौ जित, पाँच बराबरी र १२ हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।पराजित संकटा भने ४७ अंकमा सीमित छ ।