निर्माण व्यवसायमा निकोलस पाण्डेकै नेतृत्व आवश्यक – मंगल बहादुर शाही
६ माघ काठमाडौं । निर्माण व्यवसायिक नेतृत्वको मूल्यांकन केवल आर्थिक हैसियतका आधारमा मात्र गर्नु उपयुक्त हुँदैन। यद्यपि नाफा, व्यवस्थापन क्षमता र कार्यसम्पादनका परिणामलाई पूर्ण रूपमा बेवास्ता गर्नु पनि व्यवहारिक दृष्टिले सही हुँदैन। व्यवसाय आफैं दिगो नहुँदासम्म समाज र राष्ट्रप्रति प्रभावकारी योगदान सम्भव हुँदैन भन्ने यथार्थलाई आत्मसात् गर्न आवश्यक छ।
प्रभावशाली र सक्षम नेतृत्व त्यो हो, जसले व्यवसायिक क्षमता, संस्थागत दायित्व र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न सक्छ। नाफालाई उसले उद्देश्य होइन, संस्थाको स्थायित्व र मजबुतीका लागि आवश्यक साधनका रूपमा लिन्छ। मूल्य, विश्वास, पारदर्शिता र प्रणालीमा आधारित नेतृत्व बिना दीर्घकालीन सफलता सम्भव हुँदैन भन्ने स्पष्ट बुझाइ त्यस्तो नेतृत्वमा हुन्छ।
यस्तो नेतृत्वले सबै पक्षलाई समेट्ने प्रयास गर्छ, तर सिद्धान्त र संस्थागत मर्यादासँग सम्झौता गर्दैन। व्यक्ति–केन्द्रित सोचभन्दा माथि उठेर प्रणाली, पद्धति र सामूहिक नेतृत्वको अभ्यासमा विश्वास गर्दछ। व्यक्तिगत सफलताभन्दा संस्थागत सुदृढीकरण र दीर्घकालीन लक्ष्यलाई प्राथमिकतामा राख्दछ।
साथै, साना, मझौला तथा ठूला सबै निर्माण व्यवसायीका समस्या, चासो र अपेक्षालाई समान रूपमा बुझ्ने र सम्बोधन गर्ने क्षमता त्यस्तो नेतृत्वमा हुन्छ। संस्थालाई नामको सीमाभन्दा बाहिर लैजाँदै अधिकार, भरोसा र साझा आवाजको प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता नै सक्षम नेतृत्वको पहिचान हो।
यसर्थ, आर्थिक क्षमता, अनुभव, नैतिकता, समावेशी सोच र प्रभावकारी नेतृत्व क्षमतालाई सन्तुलित रूपमा अघि बढाउन सक्ने नेतृत्व आज निर्माण व्यवसाय क्षेत्रको आवश्यकता हो।
यही सन्दर्भमा, नेपाल निर्माण व्यवसायी महासंघको आगामी १५, १६ र १७ गते सम्पन्न हुने अधिवेशनबाट निर्माण व्यवसायीका विद्यमान समस्या समाधान गर्न सक्ने, साना, मझौला र ठूला सबै तहका व्यवसायीलाई समेटेर एकताबद्ध ढंगले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम नेतृत्व चयन हुनु समयको माग हो।