नजिकियो एसईई
६ चैत काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेबाट सुरु हुँदै छ । परीक्षा मिति नजिकिएसँगै देशभरका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीहरूलाई बिदा दिएका छन् । चैत १९ देखि सञ्चालन हुने एसईई चैत २९ गते सञ्चालन हुने कार्यतालिका छ ।
विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरूले घरमै बसेर ध्यान केन्द्रित गरी पढ्न सकून् भनेर बिदा दिइएको हो । यो बेला अभिभावकहरूले विद्यार्थीलाई अनावश्यक दबाब दिन नहुने तथा सकारात्मक वातावरण बनाउनुपर्ने शिक्षकहरूको सुझाव छ । परीक्षा केन्द्र व्यवस्थापन, प्रश्नपत्र सुरक्षा, अनुगमन तथा निरीक्षणका लागि आवश्यक व्यवस्था मिलाइसकिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
कतिले दिँदै छन् एसईई ?
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का प्रवक्ता लक्ष्मी मरासिनीका अनुसार, यो वर्षको एसईईमा करिब पाँच लाख २० हजार विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ चार लाख ५२ हजार ४५ जना विद्यार्थी रहेका उनले जानकारी दिए ।
गत वर्ष एनजी (ननग्रेडेड) ल्याएका अर्थात उत्तीर्ण नभएका ६२ हजार विद्यार्थी छन् । करिब ७ हजार पुराना विद्यार्थी छन् । गत वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।
प्रश्नपत्र कहाँ पुग्यो ?
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सूदुरपश्चिम, कर्णाली, कोसी र गण्डकी प्रदेशका लागि आवश्यक प्रश्नपत्र पठाइसकेको जानकारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका लागि आवश्यक प्रश्नपत्र पठाइँदै गरेको कार्यालयले जनाएको छ । मधेस प्रदेश र वाग्मतीका लागि आवश्यक प्रश्नपत्र भने पठाउन बाँकी रहेको मरासिनीको भनाइ छ ।
विद्यार्थीलाई सुझाव
शिक्षा क्षेत्रका सरोकारवालाहरूले एसईईको तयारीमा रहेका विद्यार्थीलाई तनावमुक्त रहन सुझाव दिएका छन् । योजनाबद्ध रूपमा अध्ययन गर्नु उपयुक्त हुने उनीहरूको भनाइ छ । नियमित पुनरावृत्ति, पुराना प्रश्नपत्र अभ्यास, समय व्यवस्थापनलाई ध्यानमा राख्न विज्ञहरूको सुझाव छ ।
काठमाडौं महानगरमा विशेष कक्षा
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले एसईईको नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गरिरहेको छ । गत वर्षका लिइएको परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना अनुरूप फागुनबाटै विशेष कक्षा सञ्चालन गरेको हो ।