दुई दिन छुट्टीको सूचना भ्रामक – मन्त्रालय
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने भनी सार्वजनिक सूचना भ्रामक भएको प्रष्ट पारेको छ । शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने भनी कुनै सूचना जारी नगरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कपोकल्पित र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
‘विभिन्न सामाजिक सञ्जालमा यस मन्त्रालयको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुमा साप्ताहिक बिदासम्बन्धी अत्यन्त जरुरी सूचना भनी मिति २०८२–१२–१७ गतेको मिति उल्लेख गरी प्रवाह भएको सूचनाका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘शैक्षिक संस्थाहरु प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन पूर्ण रुपमा बन्द हुने मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी प्रकाशन भएको कपोकल्पित र भ्रामक सूचनामा कुनै सत्यता नभएको बेहोरा सम्बन्धित सबै शैक्षिक संस्था तथा आम सरोकारवालाहरुमा अनुरोध छ ।’
साथै, सरकारी कागजात, छाप र दस्तखतको दुरुपयोग गरी भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानुनको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।