१०औँ पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ
४ बैशाख पोखरा । १०औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाउले गर्ने भएको छ। आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १०औँ पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको छ ।
पोखरा स्पोर्ट्स अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश केसी र १०औँ पोखरा स्पोर्ट्स अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरूमा समेत सहभागिता जनाउँदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १०औँ संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा लामो समयदेखि साथ र सहयोग गर्दै आइरहँदा पोखरा स्पोर्ट्स अवार्ड विशुद्ध खेलाडीहरूमा समर्पित हुने भएकाले उक्त कार्यमा सहभागी हुनु आफैँमा गर्वको कुरा रहेको केसीको भनाइ रहेको थियो ।
पोखरा स्पोर्ट्स अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरूमा समेत साथ र सहयोग गर्दै आइरहँदा १०औँ संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसीप्रति आभार प्रकट गरे । हिमश्री फुड्सद्वारा उत्पादित दक्षिण एसियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउसँगै रारा हट एन्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महाप्रबन्धक शिव गिरीले बताए ।
विभिन्न आठ विधामा अवार्ड प्रदान गरिँदै छ । जसमा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । पोखरा स्पोर्ट्स अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाडौं, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौं, होटेल क्राउन प्लाजा काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको विशेष सहयोग रहेको छ ।