खानेपानी र विद्युत् महशुल छुटको मागसहित माइतीघरमा प्रदर्शन


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३
722
SHARES

६ जेष्ठ काठमाडौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) को नेतृत्वमा बुधबार प्रदर्शन भएको हो । महासंघले खानेपानी उपभोक्ता समितिहरूमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत् महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सामुदायिक तथा गैरनाफामुलक संस्थाका रूपमा सेवा दिँदै आएका देशभरका ४६ हजार खानेपानी उपभोक्ता समितिमाथि सरकारले कर लगाएको बताए । यस्ता संस्थामाथि २५ प्रतिशत कर लगाएर उपभोक्ता समितिलाई आर्थिक रूपमा धराशायी बनाउन नहुने उनको भनाइ छ । विद्युत महशुलमा सहुलियत उपलब्ध गराए उपभोक्ताले सस्तो दरमा खानेपानी सेवा पाउने उनले बताए । सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।