राष्ट्रपति रनिङ शिल्डका निम्ति वाग्मती प्रदेश छनोट जेठ १३ देखि
१० जेठ काठमाडौं । वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म गर्ने भएको छ । छनोटमा प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहने छ । छनोट प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ खेल समावेश छ ।
जिल्लास्तरीय छनोट यसअघि नै सम्पन्न भइसकेको छ । परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार, ६ खेलबाट उत्कृष्ट १११ खेलाडी छनोट गरिनेछ । प्रतियोगिताको उद्घाटन दशरथ रंगशाला र समापन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सदस्यसचिव लामाका अनुसार, नगरस्तरीय छनोटदेखि जिल्ला, प्रदेश तथा मुख्य प्रतियोगितासम्मका लागि प्रदेशले तीन करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वाग्मती राष्ट्रपति रनिङ शिल्डको साविक विजेता पनि हो । वाग्मतीले यसअघि ३६ स्वर्ण, ११ रजत र सात कांस्य पदक जित्दै उपाधि रक्षा गरेको थियो ।
प्रदेशले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन गर्ने योजना पनि बनाइरहेको छ। “हामी प्रदेशको खेलकुद क्षेत्र सुधार गर्न प्रयासरत छौँ । त्यसको सुरुआत खेलाडीलाई सुरक्षित भविष्यसहित प्रदेशमै टिकाइ राख्ने नीतिबाट हुनेछ, यसका लागि नीति निर्माणको काम भइरहेको छ,” लामाले भने । पत्रकार सम्मेलनमा वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जन, सुनिता गौतम र अन्जना शिवाकोटीको उपस्थिति थियो ।