विद्यार्थीसँगै नेपालबाट ११ महिनामा बाहिरियो करिब दुई खर्ब
३० असार काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा घुम्न र अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै पछिल्लो ११ महिनामा देशबाट करिब दुई खर्ब रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का ११ महिनामा उक्त रकम नेपालबाट बाहिरिएको सोमबार (असार २९) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।०८२ साउन १ देखि ०८३ जेठ मसान्तसम्मको अवधिमा घुम्न र अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीबाट एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ का ११ महिनामा विभिन्न देशमा घुम्न र अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै दुई खर्ब तीन अर्ब १८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ का ११ महिनामा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै एक खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ यहाँबाट बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसरी बाहिरिएको रकम एक खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ थियो ।