अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेलको टिकट फ्रान्स र स्पेनको भन्दा महँगो
३० असार काठमाडौं । फिफा श्विकप–२०२६ को सेमिफाइनलमा फ्रान्स र स्पेनको तुलनामा अर्जेन्टिना र इंग्ल्यान्डको खेलको टिकट मूल्य दोब्बरभन्दा बढी महँगो देखिएको छ ।आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले डलास रंगशालामा तेस्रो स्थानको स्पेनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार यो खेल राति १२ः४५ बजे हुनेछ । फिफाका अनुसार यो खेलको सुरुआती टिकट मूल्य दुई हजार ७५० अमेरिकी डलर छ ।
साविक विजेता अर्जेन्टिनाले बिहीबार एटलान्टामा इंग्ल्यान्डविरुद्ध खेल खेल्दै छ । नेपाली समयअनुसार यो खेल पनि १२ः४५ बजे सुरु हुनेछ । यो खेलको न्यूनतम टिकट मूल्य सात हजार ५०० डलरसम्म छ ।
लियोनल मेसीको क्रेज र ऐतिहासिक प्रतिद्वन्द्विताका कारण अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेलको टिकट मूल्य फ्रान्स–स्पेनको तुलनामा दोब्बरभन्दा बढी महँगो भएको हो ।
खेलकुदविज्ञका अनुसार अमेरिकामा रहेको ठूलो संख्याको आप्रवासी जनसंख्या र एटलान्टासम्मको सहज हवाई उडान पहुँचले पनि यो खेलको टिकटको माग र मूल्य अत्यधिक बढेको हो ।