दुर्गेश थापालाई बहिष्कार होइन, सदस्यताबाट निष्काशन गरिएको हो : लोक दोहोरी प्रतिष्ठान
२५ साउन काठमाडौं। गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ।प्रतिष्ठानले आइतबार एक विज्ञप्ती जारी गर्दै दुर्गेशलाई निष्कासन गरिएको जनाएको हो।
जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सामजिक संजालमा विभिन्न माध्यमबाट सम्प्रेशित तीजगीत संगीतहरुमध्ये ‘ख्यास पुतली’ को बारेमा पक्ष ,विपक्षमा रही सामाजिक संजालमा देखा परेका टिकाटिप्पणी, जनगुनासो र यस प्रतिष्ठानसँग लोकससंगीतकर्मी र शुभचिन्तकहरुको सकरात्मक अपेक्षलाई समेत ध्यान दिदैँ कलाकार दुर्गेश थापा ज्युलाई गीत प्रकाशन पुर्व नै यस प्रतिष्ठानले ख्यास पुतली संसोधन गरिदिनुहुन गरेको लिखिततम् हार्दिक अनुरोधलाई बिल्कुलै वेवास्ता गरी निजले प्रतिष्ठानसँग आफ्नो सम्बन्ध नरहेको हुलका स्पष्टिकरण दिएको हुनाले प्रतिष्ठानको मिति २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानत् परिच्छेत (७) धारा(२६) को उपधारा (१) बमोजिम निजको साधारण सदस्य समेत नरहने गरि सदस्यता खारिज गर्ने निर्णय गरिएको छ।’ नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। उनलाई प्रतिष्ठानको सदस्यबाट मात्रै बन्चित गरिएको भनिएको छ।
दुर्गेश थापाले केही समयअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक भएसँगै तीजको मर्म विपरित उट्पट्याङ एवं भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो। कोरोनाले गर्दा तीज गीतमा नाच्न नपाउँदै भन्दै चेलीबेटीलाई ‘यसपालीको तीजमा ख्यास्स पुतली’ भन्दै दुर्गेशले गीत निकालेका थिए ।
गीत सार्वजनिक भए लगत्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘बहिष्कार’ गरेको चर्चा चल्यो ।प्रतिष्ठानका पदाधिकारीहरुले नै दुर्गेशलाई बहिष्कार गरिएको जानकारी गराए । यद्यपि आधिकारिक रुपमा विज्ञप्ती भने जारी गरिएन ।
यसको प्रतिरक्षामा दुर्गेशले ‘आफ्नो खुट्टा तान्न खोजेको’ भन्दै उक्त गीतको शब्द संशोधन नगर्ने अडान लिए । बरु उनले ‘बहिष्कार’ शीर्षकको गीत नै तयार गर्ने कुरा सार्वजनिक गरे। यही पृष्टभूमीमा प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै दुर्गेशलाई बहिष्कार नभई सदस्यता खारेज गरिएको जनाएको छ।