सबैभन्दा पछि रिलिज भएको ‘कबड्डी ५’ बक्सअफिसमा अगाडि
१६ कार्तिक काठमाडौं । दसैँको बिदाको छेको पारेर रिलिज भएका चारवटा चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । ‘कबड्डी–५’, ‘आ बाट आमा–२’, ‘६ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको हो । यी मध्ये बक्सअफिसमा सबैभन्दा अगाडि ‘कबड्डी–५’ देखिएको छ । कात्तिक ६ गते रिलिज भएको ‘कबड्डी ५’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कलेक्सन गरेको छ । यसलाई तीन लाख ४६ हजार ४२७ दर्शकले हेरेका छन् ।
दोस्रोमा ‘आ बाट आमा–२’ बक्सअफिसमा अगाडि देखिएको छ । यो सिनेमाले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कलेक्सन गरेको छ । यसका दुई लाख १३ हजार १९४ टिकट बिक्री भएका छन् । ‘६ माया छपक्कै–२’ तेस्रो स्थानमा छ । यसले तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ कलेक्सन गरेको छ । यसका एक लाख ३ हजार ९७९ टिकट बिक्री भएका छन् ।
चलचित्र ‘१२ गाउँ–२’ चौथो स्थानमा छ । यसले दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसका ७४ हजार ८०३ टिकट बिक्री भएका छन् ।
‘आ बाट आमा–२’ लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ–२’ विराज भट्टले निर्देशन गरेका छन् । ‘६ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । ‘कबड्डी ५’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । ‘आ बाट आमा–२’मा पलसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ ।‘६ माया छपक्कै–२’ मा दीपकराज गिरी, केकी अधिकारी, शनिसा भट्टराईललगायत मुख्य भूमिकामा छन् ।
‘१२ गाउँ–२’ मा समीर र विराजसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनीलगायत कलाकारको अभिनय छ ।‘कबड्डी–५’मा दयाहाङ राई, विपीन कार्की, सिर्जना गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, विजय बराल र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।