निशाको स्वास्थ्यमा देखिएन सुधार


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
5.5K
SHARES

१५ भदौ काठमाडौं । पछिल्लो करिब तीन महिनादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा खासै सुधार देखिएको छैन । मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालले निशाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो ।

नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरेर निशाको उपचार गरिरहे पनि अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

“उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख भनिएको छ ।

भारत जाने क्रममा दुर्घटनामा परेर तीन वर्षदेखि थलिएकी मोडल घिमिरेको उपचारको जिम्मेवारी नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले लिएकी थिइन् । उनले गएको जेठ २७ गते समाजसेजीको सहयोग लिएर उद्धार कार्य सुरु गरेकी थिइन् ।

स्वास्थ्यमा अपेक्षित सुधार नदेखिए पनि विकल्पहरू सोचेर उनको उपचारमा निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ ।

हालसम्म निशाको उपचारका लागि ५० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको र खर्च नर्भिक अस्पतालले नै व्यहोरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मोडल निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्ण रूपमा सामान्य हुने सम्भावना एकदमै न्यून देखिन्छ । ‘ब्रेन ड्यामेज’ हुँदा पनि लामो समय उपचारविहीन भएकाले अपेक्षित सुधारको सम्भावना नदेखिएको बताइएको छ ।

मोडल निशाको उपचारका लागि पहल गरेका नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार अहिले पनि उनलाई अक्सिजनको सहायतामा नै राखिएको छ । खाना, औषधिहरू घाँटीमा पाइप जोडेर दिइएको छ ।

निशाको उपचारका लागि खडा गरिएको कोषमा हालसम्म १६ लाख रुपैयाँ रकम जम्मा भइसकेको पनि उनले जानकारी दिए ।