भन्सार छली गरी ल्याएको सामान र ट्रकसहित एकजना पक्राउ
८ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित सडकखण्डबाट भन्सार छली गरी ल्याएको सामान र ट्रकसहित एकजना पक्राउ परेका छन् ।
ना६ख ४३ नम्बरको ट्रकमा भन्सार छली ल्याएको १५ लाख रुपैयाँबराबरका विभिन्न प्रकारका कपडा तथा जुत्ताहरूसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्रकका चालक चितवनको कालिका नगरपालिका–१ घर भएका २८ वर्षीय तस्बिर तामाङ छन् ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालीमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरी टोलीले तलासी गर्दा भन्सार छली ल्याएको उक्त सामानहरू फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।