वृद्धभत्ता हामीले अघि बढाएको हो – डा. महत
२६ वैशाख काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले वृद्धभत्ता कांग्रेसले अघि बढाएको बताएका छन् । सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ०४६ सालपछि सडक, सिँचाइ, स्कुल, स्वास्थ्यचौकी गाउँगाउँमा कांग्रेसले पुर्याएको तर प्रचार भने गर्न नसकिएको उनले बताए । नेकपा (एमाले)ले त्यसको जस लिने गरेको उनको भनाइ छ ।
कांग्रेसको सरकारले स्वास्थ्यमा लगानी गरेकाले नै सरदर आयु ७१ वर्ष पुगेको उनले दाबी गरे । “७१ वर्ष सरदर आयु पुगेको छ । त्यो पनि ठूलो उपलब्धि हो । कांग्रेसकै सरकार हुँदा ५४ वर्षको सरदर आयु थियो । हामीले स्वास्थ्यमा लगानी गर्यौँ,” उनले भने । अब ६५ वर्षमा नै वृद्धभत्ता दिने प्रतिबद्धता पार्टीले जनाएको उनले उल्लेख गरे ।