पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया
२३ जेठ काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर मन्त्रीबाट फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन्। मन्त्री आलेले भने, ‘अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन। तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु। पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैर्पयो ।’
तर, नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन्।
एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै खतिवडा आफ्नो मन्त्री पद रोक्न पार्टी कार्यालय पुगेका हुन्। आफ्नो राजीनामा रोक्न खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन्। अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन्।
आइतबार बसेको पार्टी सचिवालयको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी रहेको छ।