आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९
4K
SHARES

२३ जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नोतर्फबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रिपरिषद् आज पुनर्गठनको तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को पुनर्गठनको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कुनै जानकारी नगराइएको भए पनि नेतृत्वले आज दिनभरमा सपथका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रिपरिषद्को बैठक भने दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले मन्त्रिपरिषद् विस्तारका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । मन्त्रिपरिषद्मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय हिजो भएको हो ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री बन्नुभएको थियो भने स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ हुनुहुन्थ्यो ।

अब खापुङ स्वास्थ्यमन्त्री बन्नुहुनेछ भने भने जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, हिरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुहुने छ । श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय एकीकृत समाजवादी पार्टीले गरेको छ ।