पार्टीमा गम्भीर समीक्षा हुनुपर्छ – नेता रावल
२३ जेठ काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाललाई कारबाहीको लागि सिफारिस गरेपछि असन्तुष्ट जनाएका छन्। रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरेर जानुपर्ने बेलामा कारबाहीको बाटोमा हिँड्दा त्यसले पार्टीलाई झन् ठूलो क्षति पुर्याउने बताएका छन्।
नेताहरूमाथि कारबाही गरेर जाँदा झन् चुनाव हारिनेतर्फ सचेत हुनुपर्ने उनको भनाई छ। आगामी चुनावमा पार्टीलाई जिताउन संस्थागतरुपमै समीक्षा गर्नुपर्न आवश्यकता उनले औँल्याए। सामाजिक सञ्जालमार्फत रावलले समीक्षाको बाटो छोडेर कारबाहीको हतियार चलाउन थाले पार्टीमा संकट उत्पन्न चेतावनी दिए।
‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो। यसका लागि आगामी चुनाउ जित्नु पर्छ। कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ,’ उनले लेखेका छन्।
पार्टीको अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको आरोपमा भुसाललाई कारबाही गर्न पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ। निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए।
उनले पार्टीभित्र भएका सम्पूर्ण गलत कामहरूको छानबिन गरिनुपर्ने माग गरिरहेका छन्। मुख्य नेताले नै पार्टीलाई बिगार्ने काम गरेको र यसमा सबैभन्दा बढी जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्नेमा उनको जोड छ। अध्यक्ष ओलीकै कारण एमाले बिग्रिएको भुसालको दाबी छ। त्यही अन्तरवार्ताका आधारमा उनीमाथि कारबाही गर्न सिफारिस गरिएको हो।
