प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
4K
SHARES

२४ जेठ काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव गिजोलेर नराख्न माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् ।

समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् । ‘महाभियोग प्रस्तावबारे छलफल चल्दा हाम्रो पार्टीका माननीयहरूले प्रस्ताव अघि बढ्नुपर्‍यो, गिजोलेर राख्नुभएन भनेर धारणा राख्नुभएको हो’, एमाले प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले भने, ‘महाभियोग गिजोल्न मात्रै ल्याएको हो कि टुङ्गो लगाउन ल्याइएको हो भन्ने प्रश्न गर्नुभयो ।’

बैठकमा सांसद अधिकारीले महाभियोगबारे विलम्ब नगर्न र नअलमल्याउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

२०७८ साल फागुन १ गते सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएको दुई सातामा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । तर समितिको बैठक अहिलेसम्म एक पटकमात्रै बसेको छ ।