सचिवालय बैठकमा भूसाललाई कारवाही गरिने प्रस्ताव परेन


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २९ २०७९
2.9K
SHARES

२९ जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकको लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गरिनेबारे छलफलको एजेण्डा भने बनेन।

स्थानीय चुनावलगत्तै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको थियो। आयोगका अध्यक्ष केशव बडालले सचिवालयको बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए।बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ। सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ।

सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो। स्थानीय तहको चुनावपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो। यो बैठकमा चुनावको नतिजाबारे समीक्षात्मक छलफल हुने सचिव विष्टले बताए।चुनावको समीक्षासँगै एमाले सचिवालय बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनेबारे पनि छलफल हुनेछ । २ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ। तर निर्णय भने सचिवालय बैठकले गर्नेछ।