संसद्को निर्देशन : सबै उपाय लगाएर किसानलाई मल उपलब्ध गराउनू
३० जेठ काठमाडौं । संसद्ले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको छ । नेकपा (एमाले)का सांसद विशाल भट्टराईसमेतले दर्ता गरेको अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमाथिको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्कोतर्फबाट कृषिमन्त्री महेन्द्र राय यादवलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
मन्त्रीको जवाफपछि सांसद र सरकारको समान धारणा रहेको भन्दै सम्भाव्य सबै उपाय लगाएर किसानलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुखले राखेका प्रस्ताव सदनले सर्वसम्मत पारित गरेको हो ।
“रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालिका रूपमा रहेको धान बाली लगाउने समयमासमेत रासायनिक मल उपलब्ध नभएका विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्यसम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ,” सभामुखले प्रस्ताव राख्दै भनेका थिए ।