एसपीपी सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्नुहोस् – प्रचण्ड
१ असार काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासँग भेट गर्दै अध्यक्ष प्रचण्डले एसपीपी सम्वन्धी सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्न सुझाव दिएका हुन्।
प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताएका थिए।
प्रचण्डले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भन्दै प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए। जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निर्हुयाउने गरि कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए।
मंगलबार सत्तारुढ पार्टीका नेताहरुसँगको छलफलमा पनि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने बताएका थिए। उनले नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरु देशले चासो राखेर कसैले भनेपनि आफूले नमान्ने स्पष्ट धारणा राखेका थिए।