एसपीपीमा नेपाल संलग्न हुँदैन – गृहमन्त्री खाँण
२ असार काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । उनले भविष्यमा पनि नेपाल यो कार्यक्रममा सहभागी नहुने बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयतर्फ उठेका प्रश्नको जवाफ दिन उपस्थित उनले नेपाल एसपीपीमा सहभागी हुने सोच नभएको बताए । प्रधानमन्त्री देउवाको शैलीमा उनले नेपाल उक्त कार्यक्रममा सहभागी नहुने स्पष्ट पारे । “हामी एसपीपी संलग्न हुँदैनौँ, हुँदैनौँ । एमसीसीको विषयमा हिजो जे बोल्यौँ, त्यहीँ गर्यौँ । एसपीपीको विषयमा आज हामीले जे बोलिरहेका छौँ त्यहीँ गर्छौँ,” उनले भने ।
गृहमन्त्री खाँणले थपे, “स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारकै तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । नेपालको कुनै संलग्नता रहने छैन । नेपाल संयुक्त राष्ट्रको सदस्य रहेकाले अन्तर्राष्ट्रिय परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त मान्छौँ । हामी कुनै पनि सैनिक गठबन्धनको हिस्सेदार बन्न सक्दैनौँ । नेपाल र नेपाली सेना सैन्य गठबन्धनको सिकार बन्न सक्दैनन् ।”