एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस् – महामन्त्रीद्वय
६ असार काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) सधाको लागि बन्द गर्न आग्रह गरेका छन् । सोमबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटेर उनीहरूले एसपीपीको ढोका सँधैका लागि बन्द गर्न आग्रह गरेका हुन् । भेटमा महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेका छन् ।
“विहान ११ बजेबाट करिव एक घण्टा पार्टी सञ्चालन र समसामयीक विषयमा गहन छलफल भयो,” स्रोतले भन्यो, “एसपीपीलाई प्रकृया पुर्याएर सधैँका लागि च्याप्टर क्लोज गर्न माग महामन्त्रीद्वयबाट भएको छ । साथै उहाँहरुले प्रतिपक्ष दलहरुसहितको सर्वदलीय बैठक बसेर साँझा धारणा बनाउन पनि माग गर्नुभएको छ ।”
छलफलका क्रममा महामन्त्रीद्वयले प्रधानमन्त्री देउवालाई सेयर बजार र लगानीकर्ताहरू मारमा परेको भन्दै आवश्यक परामर्श गरेर निचोड निकाल्नेगरी पहलकदमी गर्न आग्रह गरेका छन् । यस्तै निर्वाचन आयोगसँग छलफल गरेर विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा भाग लिन पाउने विषयमा छलफल गर्न पनि उनीहरुले माग गरेका छन् ।