यस कारण रोकियो नयाँको सपथ !
६ असार काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको १५ दिन बितिसकेको छ । तर, उक्त पार्टीको निर्णय कार्यान्वयन भएको छैन । निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीका नेताहरुले दबाब पनि दिइरहेका छन् ।
गएको जेठ २२ गते बसेको सचिवालय बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उनीहरुको स्थानमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम मन्त्री, भवानी खापुङलाई स्वास्थ्य मन्त्री र मेटमणि चौधरीलाई सहरी विकास मन्त्री नियुक्तिका लागि उक्त पार्टीले २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र बुझाएको थियो ।
त्यसपछि मन्त्रीहरुको दौडधुप तीव्र भयो । आर्थिक वर्ष २०७९–८० को बजेटमा मन्त्रीहरुले जवाफ नदिइ फेरबदल नगर्ने सहमति शीर्ष तहमा भयो । तथापी, अझै पनि पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीले आवाज उठाएको थियो ।
माओवादी र कांग्रेसका कारण ढिलाइ भएको एकीकृत समाजवादीको दाबी
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री देउवाललाई निर्णय कार्यान्वयनमा ढिलाई नगर्न आग्रह गरिएको छ । छिट्टै नयाँ मन्त्री नियुक्त गर्ने जवाफ देउवाले दिएका छन् । “बैठकमा मन्त्रिपरिषद्मा रहेका हाम्रो टिमबारे कुराकानी भयो । हामीले मन्त्री फेर्ने निर्णय गरिसकेका छौँ । तुरुन्तै कार्यान्वयन गर्नुस् । अब पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,” बैठकपछि उनले भनेका थिए, “उहाँ (प्रधानमन्त्री) ले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ । कार्यान्वयन गर्छु भन्नुभएको छ ।”
त्यसैगरी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई ६ महिनाका लागि नै पठाइएको भन्दै ८ महिना भएपछि परिवर्तन गरिएको बताए ।आइतबार नै सम्पादकहरुसँगको कुराकानीमा उनले ६ महिनाअघि नै मन्त्री फेर्ने चर्चा समेत भएको सुनाए । “बाध्यताका कारण ६ महिनाका लागि मात्रै अहिलेका मन्त्रीलाई पठाएका हौं । कतिपय मन्त्रीहरुले हामीलाई ६ महिनाका लागि नै बनेर पठाएको भन्दै बाहिर नै स्वीकार गर्नुभयो,” उनले भने,“६ महिनाअघि नै मन्त्री परिवर्तनका कुरा नचलेका होइनन् । तर ६ महिना त दिनुुस् भनेपछि आठ महिनामा मन्त्री परिवर्तन गरेका हौं । नयाँलाई पठाउन चाहेका छौं ।”
उनले नाम पठाएकाहरुलाई नियुक्ति गर्न ढिलाई भइरहेको भन्दै १–२ दिनमात्रै पर्खने बताए । गठबन्धनको बैठकमा प्रधानमन्त्रीले छिट्टै पार्टीको निर्णय कार्यान्वयन गर्ने वचन दिएको पनि सुनाए । नेपाली कांग्रेस र नेकपा माओवादीमा पनि मन्त्री फेर्नुपर्ने भन्दै आफूहरु निर्णयमा नपुगिएको बताए । “नयाँ पठाउने कुराका सन्दर्भमा ढिलाढाला भइरहेको छ । खासगरी प्रधानमन्त्री र माओवादीका साथीले हाम्रोभित्र पनि त्यस्ता माग आइरहेकाले केही दिन पर्खिदिनुपर्यो भनेको हुनाले एक दुई दिन पर्खिने कुरा हुन्छ,” नेपालले भने ।
बालुवाटार भन्छ – माधव नेपालले होल्ड गराए
अध्यक्ष नेपालले मन्त्रिपरिषद् फेरबदलमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कारण ढिलाई भइरहेको दाबी गरे पनि बालुवाटार भने शतप्रतिशत त्यो मान्न तयार छैन ।प्रधानमन्त्री देउवालाई केही दिन मन्त्री फेर्ने विषय होल्ड गर्न माधव नेपालले नै लगाएको दाबी बालुवाटारको छ । स्रोतका अनुसार दुई चार दिनभित्रै मन्त्रिपरिषद् फेरवदल गर्ने र नेकपा(एस) को मन्त्री फेर्न पठाएको पत्र कार्यान्वयन गर्ने पक्षमा देउवाको तयारी थियो ।
“माधव नेपालले भनेजस्तो यहाँबाट रोकिएको हैन । उहाँहरुकै कारण रोकिएको हो,” बालुवाटार स्रोतले भन्यो,“अहिले प्रधानमन्त्रीज्यू सोही गृहकार्यमा हुनुहुन्छ । बढीमा दुई चारदिन लाग्ला, नेकपा(एस)ले फेर्न लगाएको मन्त्रीहरु फेरिनु हुनेछ ।”
कांग्रेस र माओवादीमा सामान्य छलफल
मन्त्री हेरफेरका विषय कांग्रेस र माओवादीका प्रवेश गरेको छ । तर, सामान्य छलफल भएको नेताहरु बताउँछन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका देउवा निकट एक सांसद पार्टीभित्र मन्त्री फेर्ने चर्चा सामान्य चले पनि अहिले ठोसरुपमा अघि नबढेको बताउँछन् । पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुको कार्यसम्पादन राम्रै भएकाले अहिले फेरबदल हुने सम्भावना कमै रहेको उनी बताउँछन् ।
“सामान्य पनि हो, अर्को पार्टीले परिवर्तन गर्दा हामीले किन नगर्ने भन्ने बहस केही चलेकै हो । तर, पानीको फोका जस्तै त्यो विषय पनि किनार लागिसक्यो,” ती सांसदले बाह्रखरीसँग भने,“कुरा उठेपछि दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको समीक्षा हामीले गर्यौँ । कार्यसम्पादन राम्रो पाएपछि कुरा अहिले रोकिएको छ ।”
नेकपा एसले प्रधानमन्त्री आन्तरिक समीकरण देखाएर रोकेको भनिरहेको छ नि भन्ने प्रश्नमा ती सांसदले माधव नेपालकै आग्रहमा रोकिएको दाबी गरे । “प्रेम आले र किसान श्रेष्ठले माधव नेपाल र पार्टीमा मन्त्री खोसिए अप्रिय निर्णय हुन्छ भनेपछि माधवजीले प्रधानमन्त्रीज्यूसँग केही दिन रोकिदिनुपर्यो भन्नुभएको हो,” उनले भने,“दुई मन्त्रीले प्रधानमन्त्रीसँग भेटेर पनि यही कुरा राखेको चर्चा पार्टीभित्र छ ।”
देउवा निकट ती सांसद कांग्रेसका कारण मन्त्रिमण्डल फेरबदलमा ढिलासुस्ती नभएको पनि दाबी गर्छन् । नयाँ मन्त्रीको नाम पठाउँदा मन्त्री आलेसहितका नेताहरुले असन्तुष्टि जनाएका थिए । आलेले आफूसँग रहेका केही सांसद लिएर पार्टी छोड्ने धम्की दिएको समेत चर्चा चलेको थिए ।
तर एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बास्कोटा भने आलेले त्यस्तो कुरा नगरेको र विरोधीहरुले भ्रम फैलाएको दाबी गर्छन् । “कसैले पनि मन्त्रीबाट फर्किनुपरे पार्टी छाड्ने कुरा गर्नुभएको छैन । पार्टीको नराम्रो सोच्नेहरुले फैलाएको भ्रम हो । आलेजीले नै ६ महिनामा मन्त्री फेर्ने कुरा भएको थियो । ८ महिनामा फेरौं भन्ने कुरा गर्नुएको हो,” उनी दाबी गर्छन् ।
मन्त्रिपरिषद् एक दुई दिनमा नै परिवर्तन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । मन्त्रीमा सिफारिस भएका एकीकृत समाजवादीका नेताले पनि आफूले सोही जानकारी पाएको बताए । “एक –दुई दिनमा नै मन्त्रिपरिषद्मा नियुक्ति हुने कुरा आएको छ । किन बिलम्ब भयो भन्ने जानकारी भने छैन,” उनले भने ।
उता, माओवादी केन्द्रमा पनि मन्त्री हेरफेरको विषयले मूर्तरुप पाएको छैन । माओवादी नेता हरिबोल गजुरेलले समान्य छलफल भने भएको बताउँछन् । “सामान्य छलफल चलेको हो । औपचारिक केही कुरा भएको छैन,” उनले भने ।