एकीकृत समाजवादी : नयाँ मन्त्री नगई नछाड्ने, पुराना छाड्न नमान्ने, प्रधानमन्त्री आलटाल गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
1.8K
SHARES

१० असार काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिखेर आन्तरीक तनावमा परेका छन् । उनकै अध्यक्षतामा बसेको बैठकले पार्टीका केही मन्त्री फिर्ता बोलाउने, केहीलाई बढुवा गर्ने र केही नयाँ पठाउने निर्णय भयो ।

तर यो निर्णयले पार्टी भित्र पनि तरंग आयो । नयाँ मन्त्री शपथका लागि तयार भएर बसे । पुराना मन्त्री पनि शुरुमा छाड्न तयार थिए तर विस्तारै प्रधानमन्त्री शेर बहादुर देउवाले आलटाल गरिदिएका कारण त्यो तत्कालै संभव भएन । अब भने लगभग मन्त्री फेरीने भन्ने भएको थियो, तर सरकार आन्तरीक रुपमा अबको केही दिनमा संघ र प्रदेशको निर्वाचन घोषणाको तयारीमा लागेकाले तत्कालै मन्त्री फेर्ने कुरामा देउवा सकारात्मक नदेखिँदा पार्टी भित्र सन्तुलन मिलाउन अध्यक्ष नेपाललाई अप्ठ्यारो परेको छ ।

पार्टीको निर्णय जे हुन्छ मान्ने भन्दै केही मन्त्री तयार भए पनि केही मन्त्री कुर्सी छाड्ने मनशायमा नरहेको बुझिएको छ । अब निर्वाचन समेत आउन लागेकाले मन्त्रीहरु फिर्ता हुन खोजिरहेका छैनन् भने अन्य नेता मन्त्री भएर थप जनमत बनाउने गरी काम गर्ने चाहना राखेर नेतृत्वलाई दबाब दिईरहेका छन् । यही अप्ठ्यारो चिर्न अध्यक्ष नेपाल निरन्तर परामर्शमा रहेका छन् । उनी मिलाएर मन्त्री परिवर्तन गराउने, गठबन्धन पनि जोगाउने पक्षमा लागि परेका छन् ।