भोलि बेलुकासम्म उहाँहरू फिर्ता आउनुहुन्छ – उपाध्यक्ष पाण्डे
१० असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्र पाण्डे मन्त्रीबाट निकालिए पार्टी छोड्ने धम्की आए पनि कसैसँग पार्टी छाडेर जाने तागत नभएको बताएका छन् । उनले शनिबार बेलुकासम्म मन्त्रिमण्डल फेरबदल हुने पनि बताएका छन् ।
शुक्रबार पोलिटब्युरो बैठकपश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले शनिबार बेलुकीसम्ममा पार्टीबाट नाम पठाइएका नयाँ मन्त्रीहरूले शपथ लिने दाबी गरे । “फिर्ता हुने कि नहुने भोलिसम्म थाहा पाउनुहुन्छ । नयाँ साथीहरू मन्त्री बनेर जानुहुन्छ, पुराना साथीहरू फर्कनुहुन्छ,” उनले भने । बिहीबार पनि भोलि हुन्छ भनिएको हैन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले बोलेपछि विश्वस्त हुन आग्रह गरे । उनले मन्त्री फेर्ने विषयमा पार्टीले निर्णय गरेर नाम पठाउँदाको समय पनि उपयुक्त नभएको स्वीकार गरे ।
“बजेटको विषयमा विधागत मन्त्रालयको जवाफ मन्त्रीहरूले दिनुपर्ने हुन्छ । हामीले अर्लि निर्णयचाहिँ गरेकै हो,” उनले भने, “बजेटमा उत्तर आइसक्यो । अब फेरबदल गर्न ढिला गर्न हुँदैन ।” उपाध्यक्ष पाण्डेले अहिलेका मन्त्रीहरू पनि पार्टीको चिठीले मात्र मन्त्री भएको भन्दै अहिले पार्टीको निर्णय मान्दिनँ भन्ने अधिकार मन्त्रीहरूलाई नभएको जानकारी दिए । “६ महिनाका लागि सरकारमा जानुहोस्, ६ महिनापश्चात् अर्कै टिम सरकारमा जान्छ भनेरै उहाँहरू सरकारमा जानुभएको हो,” उनले भने, “मन्त्री पद भनेको चार्मफुल पद नै हो, गाडी हुन्छ झण्डा हुन्छ सलाम ठोक्ने मान्छे हुन्छ । त्यसैले यो सबैबाट तल ओर्लिन गाह्रो हुन्छ । भएको त्यहीँ हो ।”