यस कारण पार्टी विभाजन भयो – नेता गौतम
११ असार काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको बताएका छन्।
शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन्। उनले तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने बताए।
गौतमले भने, ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपथ्र्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ।’
आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै उनले आत्मालोचना गरे। उनले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको भन्दै गुनासो समेत गरे।