‘प्रेमी’ले बोलेको झुट नै बन्यो गायिका दिलमायाको अनुन्धान ‘क्लु’


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १३ २०७९
3.1K
SHARES

१३ असार काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला नपर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ ।

शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आसयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।

तर उनको मोबाइल फेला पर्न सकेको छैन । प्रहरीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन । अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको छ ।

सूर्यले अर्को विवाहसमेत गरेको खुलेको छ  । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ । अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एकपटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यतिबेला पनि सूर्य पनि सँगै थिए ।

पतिसँग सम्बन्ध विच्छेदपछि  दिलमाया उनी केही महिनायता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएका छन् ।

शंकाको घेरामा प्रेमी सूर्य

घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंको टोलीले गरिरहेको छ ।  महाशाखाका एसपी कृष्ण कोइरालाले बाँकी अनुसन्धान काठमाडौं प्रहरीले नै गरिरहेको बताए ।

उनले भने,“हत्या आत्महत्या खुलेको छैन । हिजोसम्म मोबाइल फेला परेको थिएन । बाँकी अनुसन्धान काठमाडौं प्रहरीले गरिरहेको छ । उतैबाट थप जानकारी पाइएला ।”

अनुसन्धानका क्रममा पक्राउ परेका सूर्य श्रेष्ठ मृतक दिलमायाका प्रेमी भएको खुलेको छ । उनी दिलमायासंग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । प्रहरीले सुरुवाती समयमा प्रहरीले दिलमायाले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।

तर घरधनीले शुक्रबार राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडी बढेको थियो ।

अनुसन्धानका क्रममा सूर्य श्रेष्ठ नै दिलमायाको कोठामा आएको खुलेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेका थिए । तर उनको मोबाइलको लोकेसन र  मोटरसाइकल कोठा अगाडि सीसी क्यामरामा देखिएपछि उनले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए ।

उनले दिलमायाको कोठामै राति खसीको मासु र ‘लोकल रक्सी’सेवन गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

दिलमायाले भने ‘स्प्राइट’ पिएको उनले बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा सूर्य उनको कोठाबाट बिहान ४ बजे निस्किएको खुलेको छ ।

सूर्यले बयानका क्रममा बिहान ३–४ बजेतिर उनी ब्यूझिँएपछि झुन्डिरहेको देखेपछि डोरी खोलेको बताएका छन् । त्यसपछि आफु आत्तिएर सल लिएर निस्किएको बताएका छन् ।

बिहान ४ बजेतिर घरबाट निस्किएका उनले सल महाराजगञ्जमा कतारको भिसा सेन्टर छेऊमा भएको नालीमा फालेको पाइएको छ । उनकै बयानका आधारमा प्रहरीले सल बरामद गरेको छ ।

उनले दिलमायाको मोबाइलबारे आफुलाई जानकारी नभएको बताएका छन् । प्रहरी मोबाइल खोज्न सक्रिय छ । मोबाइल भेटिए अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरी विश्वास छ ।

सूर्यले बोलेको झुट र मृतकको मोबाइल नभेटिनुले आत्महत्या नभई हत्या भएको हुनसक्ने प्रहरी आशंका रहेको छ । त्यसकै आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।