मन्त्री फिर्ता बोलाएको छैन – अध्यक्ष यादव
१७ असार काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको बताएका छन् ।
जसपाले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला नियोजित भएको उनको भनाइ छ ।“हामीले मन्त्रीहरूलाई फिर्ता बोलाएका पनि छैनौँ, नयाँ मन्त्री सिफारिस गरेका पनि छैनौँ,” अध्यक्ष यादवले बाह्रखरीसित भने, “कसले कहाँबाट यस्तो नियोजित हल्ला फैलाउँदै छ, मैले बुझ्न सकेको छैन ।”
उनले मन्त्रिपरिषद्मा हेरफेर गर्दा पार्टीभित्र छलफल गरेर मात्र निर्णय लिइने बताए । अहिले अमुक ठाउँबाट गलत नियतका साथ हल्ला चलाइएको उनले बताए ।
जसपाबाट मन्त्री बनेका कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले पनि फिर्ता हुनेबारे आफूलाई कुनै जानकारी नआएको बताए । जसपाबाट मन्त्री बनेकाहरू नै अध्यक्ष यादवविरुद्ध लागेको भन्दै उनीहरूलाई फिर्ता गरिने चर्चा केही दिनअघिदेखि नै चलेको थियो । यता, अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भइसकेको छ ।