अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ – सांसद थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २० २०७९
5K
SHARES

२० असार काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । संसदभित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनको धारणा थियो ।

“अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । र तत्काल छानबिन गर्नुपर्छ । हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानविय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन । यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो ग¥यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ । वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने । छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो । दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्नेकुरा थाहा भयो ।”