सडक आन्दोलनको तयारीमा छौं – प्रचण्ड
२३ असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीयता रक्षाका लागि सडकमा जानुपर्ने अवस्था देखिन थालेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै उनले नयाँ आन्दोलनको तयारीमा पार्टी लागेको भन्दै यसले निर्वाचन प्राणालीमा पनि सुधार ल्याउने दाबी गरे ।
“जतिबेला सडकमा हुन्छौं हामी विजयी हुन्छौं । हामीसँग जनता हुन्छन्,” उनले भने, “निर्वाचन प्रणालीको सुधारका लागि आन्दोलन गर्नुछ । अब हामी एउटा फेरि नयाँ आन्दोलनको तयारीमा जादैछौं ।”
अध्यक्ष प्रचण्डले पार्टी दिनप्रतिदिन विचलित हुँदै जाने र टुक्रने खतरा भएको भन्दै ‘क्रान्ति हाम्रै पालामा सम्भव छ’ भन्ने विश्वास दिलाउन सक्नु अहिलेको आवश्यक्ता भएको बताए । “सानै टिम भए पनि १० वर्षमा देखेको हो नि । हाम्रै जीवनकालमा समाजवादी क्रान्ति सम्भव छ,” उनले भने ।