मैले टिकट नपाए विद्रोह हुन्छ – मोहन बस्नेत
२८ असार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले आगामी चुनावमा गठबन्धन भएर आफूले टिकट नपाए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धन भएर हालका सभामुख अग्निप्रसाद सापकोटाले टिकट पाए आफूलाई मान्य नहुने चेतावनी दिएका हुन् ।
“म गठबन्धनको विपक्षमा छैन । प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि गठबन्धन गरौँ । तर, मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मेरो सिट धरापमा पर्यो । म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ, उनले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “त्यहाँ हालका सभामुख अग्निप्रसाद सापकोटालाई टिकट दिइयो भने विद्रोह हुन्छ ।”
सापकोटाले नेकपा (माओवादी केन्द्र)बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन् । सापकोटा र बस्नेतको निर्वाचन क्षेत्र एउटै हो ।