संघीयता खारेज गरौं भन्नु निरंकुश राजतन्त्रकै दिशामा जानु हो – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
2.7K
SHARES

३० असार काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनु जरुरी रहेको बताएका छन्। राजधानीमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा प्रचण्डले त्यसका लागि आफूले पहल लिने पनि बताए।

‘आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने हुन्छ। वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन्। हिजो कम्युनिस्ट एकता गराएकै हो। वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनै पर्छ,’ उनले भने, ‘हिजो प्रस्तावक म थिए भोलि पनि मै प्रस्तावक हुन्छु भन्ने लागेको छ।’

उनले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरे। ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खास गरी नेपालमा,’ उनले भने, ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरू बाटो अहिले म नेपालमा देख्दिनँ।’

प्रचण्डले केही नयाँ गर्नुपर्छ भन्नेहरूमाथि घेराबन्दी हुने संस्कार नेपालमा रहेको बताए। ‘समाज एक खालको सोचमा हुर्केको छ। नयाँलाई स्वीकार्न नचाहने सोच छ। नयाँ कुरा गर्‍यो भने घेरा हाल्ने संस्कार छ,’ उनले भने, ‘विज्ञानको नियमलाई मानेर अगाडि बढ्नुको विकल्प हुँदैन।’

प्रचण्डले पछिल्लो समय केही नेताहरूले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताए। उनले संघीयतालाई खारेजी नभई व्यवस्थित र मजबुत बनाउनु पर्नेमा जोड दिए।

‘आज भोलि केही नेताहरू संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरंकुश राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुत बनाउनुपर्‍यो। प्राकृतिक स्रोत साधनमाथि जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनुपर्छ।’