प्रचण्डसित बाबुरामले भने– गठबन्धन कुनै हालतमा छोड्दिनँ
३ साउन काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको जानकारी दिए । गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनले बताए ।
आउँदो निर्वाचनमा पनि गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय सही भएको उनको भनाइ छ । “कांग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको,” उनले भने ।
प्रचण्डले डा. भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले कारबाही गरे पनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा डा. भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको प्रचण्डले जानकारी दिए ।