यो गठबन्धन निरन्तरता नदिए काँग्रेसविरुद्ध महागठबन्धन बन्छ : नेता पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ८ २०७९
3.6K
SHARES

८ साउन तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता नदिए काँग्रेसविरुद्ध कम्युनिष्टहरुको महागठबन्धन बन्ने बताएका छन । त्यस्तो महागठबन्धन रोक्नका लागि मात्र काँग्रेस पाँच दलीय गठबन्धनमा सहभागी भएको उनले बताए ।

‘विचार, आदर्श र निष्ठ मिलेर होइन, काँग्रेसविरुद्ध महागठबन्धन बन्न सक्ने भएकाले त्यसलाई रोक्न गठबन्धनलाई निरन्तरता दिनुपर्छ’, कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा गरेको कार्यक्रममा उनले भने ।

पौडेलले काँग्रेस क्रमशः पैसावालहरुको पार्टी बन्दै गएकामा चिन्ता जनाए । पार्टीमा पैसावालहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । पैसावाल हाबी हुँदा लोकतन्त्र कमजोर हुने र राष्ट्रियता नै धपारमा पर्न सक्ने चिन्ता उनको थियो ।

उनले पार्टीभित्रका अन्तरघातीलाई कारबाही हुने चेतावनी दिए । मतदाता घटेर नभई चुनावमा हुने अन्तर्घातका कारण काँग्रेस खुम्चिँन थालेको उनले बताए । पार्टीभित्रकै अन्तर्घातले खुम्चिन पुगेका छौं’, पौडेलले भने, ‘अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ ।’