गायिका दिलमायाका हत्या आरोपित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ९ २०७९
3K
SHARES

९ साउन काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्यामा संलग्न रहेको आरोप लागेका उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसरकाअनुसार उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया गत असार ११ गते काठमाडौंको तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन् । मृत फेला पर्नुअघिको राति उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो ।

बालाजुबाट अनुसन्धान अधिकृतसहितको प्रहरी नायव उपरीक्षकको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा क्रममा मृतकको घाँटीमा डाँमजस्तो देखिएपछि घटना शंकास्पद बनेको थियो । त्यसलगत्तै प्रेमी भनिएका श्रेष्ठ फरार भएका थिए ।

प्रहरीको अनुसन्धानबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका घर भएका श्रेष्ठ दिलमायाको कोठामा सँगै बस्ने गरेको खुलेको थियो । उनीहरू करिब ८ महिनादेखि सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसपछि श्रेष्ठलाई नेपालटारबाट प्रहरीले पक्राउ गरेको थियो ।मृतक दिलमायाका बुवाले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए ।