विप्लवविरुद्ध पक्राउ पुर्जी जारी, के-के छन् मुद्दा ?
१६ साउन काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत ललितपुरले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। ३५ दिनभित्र अदालतमा उपस्थित हुन हदम्याद तोकिएको छ।
हातहतियार तथा खरखजाना र बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराधमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख गरिएको छ। विभिन्न मुद्दाहरुमा नेकपाका नेता विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
नेकपाको सैन्य विभागका इन्चार्ज उदयबहादुर चलाउनेलाई हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धि कसुरमा पक्राउ गर्न आदेश गरिएको छ। पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डलाई आपराधिक लाभ र संगठित अपराधको आरोप छ। स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला,केन्द्रीय सदस्य उमा भुजेल र स्थायी समिति सदस्य सन्तोष बुढा मगर लगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जि जारी भएको हो।
उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरिएको छ। जारी सूचनामा भनिएको छ, ‘उप्रान्त प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार र प्रतिवादी तपाईं समेत भएको तपसिलका मुद्दामा तपाईंका नाउँमा जारी भएका म्याद बेपत्ते तामेल भई आएको हुँदा यस अदालतको मिति २०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८९१३० बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ। अतः यो सूचना प्रकाशित भएको मितिले यो ३५ (पैंतीस) दिनभित्र यस अदालतमा उपस्थित हनहोला। उपस्थित नभई बसेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुनेछ ।’ आपराधिक लाभ र संगठित अपराधको मुद्दामा भने धैरै व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो। विभिन्न ठाउँमा भएका घटनाहरुमा विप्लव समूहको संलग्नता रहेको भन्दै त्यतिबेला प्रतिबन्ध लगाइएको थियो। ओलीले नै विप्लव लगायतका नेताहरुसँग सहमति गरेर उक्त प्रतिबन्ध हटाएका थिए।
