विप्लवविरुद्ध पक्राउ पुर्जीको विपक्षमा उभिए एमाले
१७ साउन काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए ।
सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सीके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी शर्मा शर्मा नेतृत्वको सरकारले धेरै मिहिनेत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले केही दिनअघि मात्र खोटाङमा गएको भूकम्पको क्षतिको विवरण संकलन गरी जनतालाई राहत दिन आग्रह पनि गरे । क्षतिको विवरण संकलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप उनले लगाए ।