‘समाजवादी केन्द्र’मा वामदेवको प्रवेश, झस्किए नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
4K
SHARES

१८ साउन काठमाडौ । समाजवादी केन्द्र बनाउने तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको प्रयास वामदेव गौतमको ‘प्रवेश’सँगै रोकिएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, बाबुराम भट्टराई समूहलगायतको बैठकले आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिह्नमार्फत् प्रतिष्पर्धामा जाने तयारी गरेका थिए ।

त्यो छलफल भइरहेकै बेला जब नेता वामदेव गौतमको प्रवेश भयो त्यसपछि माधवकुमार नेपालसहितका नेताहरु झस्किए । गौतम अझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर फर्किएपछि अरु नेताहरुले समेत गौतमलाई ‘शंकाको दृष्टि’ले हेरेको माओवादीको एक उच्च नेता बताउँछन् ।

खासगरी माधव नेपालसहित उनका पार्टीका नेताहरु गौतमको प्रवेशले झस्किएका हुन् । गौतमले भाग खोज्ने र जहिले पनि विभाजनको बाटोमा लैजाने भएकाले नेपाल पक्षीय नेताहरु झस्किएको ती नेताको दाबी छ ।

समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित छलफलमा जुटेका छन् । जसमा जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष पनि सहभागी छ । समाजवादी केन्द्रको प्रस्ताव बाबुराम भट्टराईले अगाडि सारेका थिए । जसको अगाडि नेकपा राख्ने वा नराख्ने भन्नेमा कुरा मिलेको थिएन ।

तर त्यो विवादको विषय बन्दैनथ्यो ।  केही समयअघि प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईसहितका नेताहरुबीच यसबारे छलफल समेत भएको थियो । दोस्रो तहका नेताहरु पनि समाजवादी केन्द्र निर्माण गर्न सक्रिय थिए ।

माओवादीसहित चार पार्टी मिलेर समाजवादी केन्द्र निर्माण भए त्यसले आगामी निर्वाचनमा भागबण्डामा समेत ठूलो सहजता ल्याउने नेताहरुको बुझाइ छ ।  सके एउटै पार्टी बनाउने नभए पनि मोर्चा बनाएर एउटै चुनाव चिह्नमा प्रतिष्पर्धामा उत्रिने तयारी सो समूहको थियो ।

तर उपेन्द्र यादव नेतृत्वको जसपालाई समाजवादी केन्द्रमा ल्याउने वा नल्याउने भन्नेमा भने विवाद देखिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार बाबुराम उपेन्द्रलाई ल्याउन नहुने पक्षमा छन् भने प्रचण्ड पार्टीमा ल्याउन नसके पनि मोर्चामा ल्याउने पक्षमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै घोषणापत्र र एउटै चुनाव चिह्न लिएर प्रदेश र संघको चुनावमा जान प्रस्ताव गरेका हुन् । यसबारे ठोस निर्णय नभए पनि सबैजसो नेताहरु सकारात्मक छन् ।

चार पार्टी एक ठाउँमा आए सत्ता गठबन्धन वा एमालेसँग तालमेल भए पनि आफुहरुको बार्गेनिङ बलियो हुने नेताहरुको बुझाइ छ । माओवादी एक स्थायी कमिटी सदस्यले भने, “कसैसँग तालमेल नभए पनि हामी नयाँ ढंगले जान सक्छौं । हामीसँग सहकार्य गर्न कांग्रेस, एमाले दुवै छलफलमै छन् । यस्तोमा समाजवादी केन्द्रको रोल निर्णायक हुन सक्छ । हामी जता मिल्यौं वा हामीसँग जो मिल्यो उसलाई फाइदै हुन्छ ।”

ती नेताका अनुसार अहिलेकै परिस्थितिमा एमालेसँग सहकार्यको सम्भावना कम छ । माओवादीले चुनाव चिह्न भने गोलाकार भित्रको हँसिया हथौडा नै बनाउने अडान राखेको छ ।

अर्को समस्या भनेको बाबुराम भट्टराई कम्युनिष्ट शब्द राख्न नहुने पक्षमा देखिएका छन् । प्रचण्ड र माधव नेपालसहित उनका पार्टीका नेताहरु यसमा सकारात्मक छैनन् ।

समाजवादी केन्द्र चुनावअघि नै घोषणा भए अहिलेको गठबन्धनमा बढी सिट संख्या माग्ने तयारी छ ।

यसअघि संघका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १०० सिट कांग्रेसले राख्ने र बाँकी माओवादी, समाजवादी र जसपालाई दिने सहमति भएको बताइएको छ । समाजवादी केन्द्र बनेमा ८० अर्थात् ५० प्रतिशतमै दाबी गर्ने उनीहरुको योजना छ ।

झस्कियो कांग्रेस

समाजवादी केन्द्र निर्माणमा लागेका नेताहरुका अनुसार पछिल्लो समय नेपाली  कांग्रेस झस्किएको छ । छुट्टाछुट्टै हुँदा बार्गेनिङ गर्न सजिलो हुने तर एकै केन्द्र बनाउँदा भागवण्डामा समस्या हुने कांग्रेसको बुझाइ छ । समाजवादी केन्द्र बनाउँदा एक्लै लडे पनि ४० बढी स्थानमा प्रत्यक्षतर्फ जित निकाल्ने अनुमान केन्द्र निर्माणमा लागेका नेताहरुको छ ।

माओवादी नेताहरु भन्छन्,“केन्द्र बनाएपछि मिले देशभर तालमेल हुन्छ । नमिलेको अवस्थामा शीर्ष नेताहरुको क्षेत्रमा तालमेल र अन्य क्षेत्रमा आफ्नो अनुकूलसमेत तालमेल हुनेछ । यसको अर्थ सत्ता गठबन्धन बाहिर पनि सहकार्य हुनसक्छ ।”

तर कांग्रेस समाजवादी केन्द्र नबनोस् भन्ने पक्षमा रहेको तर गठबन्धन कायम रहोस् भन्ने पक्षमा रहेको माओवादी नेता बताउँछन् ।

समाजवादी केन्द्र बनाउने बहसमा प्रचण्ड, वर्षमान पुन, माधवकुमार नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई र वामदेव गौतम नै छलफलमा छन् ।